सीपीएल खेल्न गएका सन्दीपको पुन: कोरोना परीक्षण, कस्तो आयो रिपोर्ट ?

सीपीएल खेल्न गएका सन्दीपको पुन: कोरोना परीक्षण, कस्तो आयो रिपोर्ट ?

काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

सीपीएलका लागि टोबागो पुगेका सन्दीपको पीसीआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । 

सीपीएल खेल्न गत साता टोबागो पुगेका सन्दीप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन् । उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रूपमा राखिएको छ ।

प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दीपको पनि परीक्षण गरिएको हो । सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । त्यसअघि पुनःसन्दीपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए ।

सीपीएल खेल्न सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन् । नेपालबाट टोबागो जानुअघि पनि उहाँले पीसीआर परीक्षण गराएका थिए । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो । 

सन्दीपलाई यसपटक सीपीएलका लागि ९० हजार अमेरिकी डलरमा जमैका तल्लावाहजले अनुबन्ध गरेको छ ।

उनले तेस्रोपटक सीपीएल खेल्दै छन् । यसअघि उनले सन् २०१८ र सन् २०१९ मा सीपीएल खेलेका थिए । यस वर्षको सीपीएलका लागि १९ वर्षीय सन्दीपसँगै २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।