एनसेलले नाम परिवर्तन गरी बन्यो पब्लिक कम्पनी, छिट्टै सेयर जारी गर्ने

एनसेलले नाम परिवर्तन गरी बन्यो पब्लिक कम्पनी, छिट्टै सेयर जारी गर्ने

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेल पब्लिक कम्पनीमा परिणत भएको छ । एनसेलले कम्पनी रजिष्ट्रार कार्यालयबाट यहीं सोमबार पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति पाएको हो । यससँगै एनसेल प्रालिको रुपमा सेवा तथा कारोबार गर्दै यो कम्पनीले अबदेखि एनसेल आजियाटा लिमिटेडको रुपमा सेवा प्रवाह गर्नेछ ।

पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि एनसेल अब सर्वसाधारणलाई सेयर जारी गर्ने प्रक्रियामा अगाडि बढेको छ । लाभकर विवादका कारण अल्झिएको सेयर जारी गर्ने प्रक्रिया अब भने नजिक पुगेको हो । कम्पनी ऐन २०६३ को पछिल्लो संसोधित व्यवस्था अनुसार आगामी बैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने व्यवस्था अनुसार एनसेलले आफ्नो संरचना परिवर्तन गरेको हो । पब्लिक कम्पनीमा रुपान्तरण हुन कम्पनीले २०७५ साालको बैशाखमै आवेदन दिएको थियो ।

२०७४ बैशाख १९ गते प्रमाणिकरण भएको उक्त संसोधन विधेयकका अनुसार चुक्ता पूँजी पुगेका त्यस्ता कम्पनीहरुले पब्लिक कम्पनीमा परिणत हुनु परेको हो । एनसेलको चुक्ता पूँजी १० करोड रुपियाँ छ । मेरो मोबाइलको नाममा आफ्नो सेवा विक्रि गर्दै आएको स्पाइस नेपालले सन् २०१० मा स्विडेनको दूरसञ्चार कम्पनी टेलियासोनेरालाई विक्रि गरेपछि त्यसयता एनसेलको रुपमा सेवा सञ्चालन हुँदै आएको छ ।