काठमाडौं । सरकारले हालकै अवस्थाको लकडाउन साउन ७ सम्मका लागि बढाउने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउन चरणबद्ध रूपमा खुकुलो बनाउँदै आएको सरकारले पहिलो चरणकै अवस्थालाई थप गरी साउन ७ सम्म बढाउने निर्णय गरेको हो । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणको लकडाउन खुकुल्याउने कार्यविधि साउन ७ सम्म लागू गराउने निर्णय गरेको हो।
पहिलो चरणमा खुलाइएको आंशिक लकडाउन तीन सातासम्म लागू हुने निर्णय सरकारले गरेको थियो । असार १ बाट लागू भएको पहिलो चरणको लकडाउन खुकुलो बनाउने कार्यविधिको अवधि असार २१ मा सकिँदै थियो। तर सोभन्दा एकसाता अघि नै सरकारले साउन ७ सम्म पहिलो चरणमा खोल्ने भनिएका सेवा तथा उद्योग मात्र संचालन गर्न पाउने व्यवस्था गरेको हो।
जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्। त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्।