“स्कुल हिँड्न हतार भइसक्यो । ल भात पस्किदेऊ ।” गुरूप्रसाद मास्टरसापले आफ्नी जहानलाई अह्राए ।
“के हो यो, आलु मात्र ? केही हरियोपरियो छैन ?” दाल र आलुको भुजियामात्र देखेर मास्टरसापको रिसको पारो चढ्यो ।
“आज मुन्नी आइन त । धन्न अस्ति लिएको आलु अलिकति मात्रै बाँकी रहेछ ।”
मुन्नी अर्थात् १७–१८ वर्षकी सब्जीवाली । कहिले बिहानै त कहिले अपराह्नतिर सागसब्जीको टोकरी बोकेर गाउँ घुम्छे । मुन्नी आइन भने गाउँमा धेरैको घरमा तरकारी पाक्दैन, जसरी आज गुरूप्रसाद मास्टर–सापको घरमा पाकेन । दाल र नुन–खुर्सानीसँग भात निल्नुपर्ने हुन्छ । बिहान र बेलुकी गाउँका मानिसहरू मुन्नी कहिले आइपुग्छे भनेर घाँटी तन्काएर बाटो हेरिरहेका हुन्छन् ।
देशको अर्थतन्त्रको जस्तै सिङ्गो गाउँको जीवन रेमिटेन्सले धानेको छ । जग्जाजमिन बाँझै छन् । करेसाबारीमा गन्धेझार उम्रिन्छ । दाल–चामल, सागसब्जी सबै किनेर खान्छन् । कसैलाई खेतीपाती गर्ने जाँगर छैन । कसैसँग श्रमशक्ति छैन । हली, बाउसेका हट्टाकट्टा पाखुरा बुढ्यौलीले सुस्ताएका छन् । नवयुवाको खेतीपातीतिर रुचि छैन । उनीहरू बरु कतार, साउदी, मलेसिया, कोरिया हानिन्छन् । बीउ उखाल्ने, रोप्ने खेताला पाइँदैन । पहिलेका रोपाहार थाकिसके । अहिलेका तरूनी–बरुनी इजरायल, साइप्रस जता पाइन्छ, त्यतै जान्छन् । ती तन्नेरी–बरूनीले पठाएको पैसाले गाउँको खर्चपर्च चलेको छ ।
खेती गरौँ भन्दा पनि समयमा न बीउबिजन पाइन्छ, न मल नै । बल्ल–बल्ल रोपेको बाली पनि सप्रिन्छ भन्ने ग्यारेन्टी छैन । कुलोहरू मासिइसके । भएकोमा पानी आउँदैन । बारीमा इनार बनाई जेनेरेटरले पानी तान्ने हैसियत सबैको हुन्न । अनेकथरीका कीरा लागेर दाना लाग्दैन । मिहिनेत गरेर उब्जाएको अन्नले वर्षदिन खान पुगे त हुन्थ्यो नि, त्यो पनि पुग्दैन । नुनतेलको गर्जो टार्न अलिकति अन्न बेचूँ भन्दा बजार–भाउ हुँदैन । आखिर किसानहरू निराश नहुन् पनि किन रु हलो फालेर खाडीतिर हाम नफालून् किन ?
गाउँ पस्ने बाटोको छेउमा पूर्वी तराईतिरबाट एउटा मिहिनेती किसान परिवार आएर बस्यो । लोग्नेको नाम रजाम र स्वास्नीको नाम आविदा, दुवैको उमेर ४० वरिपरिका । एउटा किशोरी छोरी–मुनिरा, जसलाई उनीहरू मुन्नी भन्थे र नाबालक छोरो रज्जाक । बिचरी मुन्नी बहिरी थिई । बोल्न सक्दैनथी ।
त्यो किसान परिवारले गाउँलेको केही बाँझो जमिन भाडामा लिएर तरकारी खेती गर्न थाल्यो । तरकारी खेती राम्रो भयो । गरे नहुने होइन रहेछ । बाटोको छेउमा तरकारीको घुम्ती पसल पनि राख्यो । राम्रैसँग चल्यो पनि । लोग्नेस्वास्नी पालैपालो टोकरीमा तरकारी राखेर कहिले बिहान, कहिले बेलुकी गाउँ घुम्थे । उनीहरू जान नपाएका बेला मुन्नी तरकारी बेच्न जान्थी । सानो भाइ रज्जाक दिदीको पछिपछि जान्थ्यो । गुरूप्रसाद मास्टरसाप, पण्डित नित्यानन्द, जगन्नाथ प्रधान–बा, प्रहरी चौकी सबै ठाउँमा उनीहरूको तरकारी पुग्थ्यो ।
तरकारीको टोकरी टाउकोमा राखेर हिँड्न थालेको केही वर्षमै मुन्नी हलक्कै बढी । बोली नफुटे पनि जवानी नरोकिने रहेछ । हेर्दाहेर्दै शरीरमा यौवनमा उभारहरू देखिन थाले । वक्षस्थल पुष्ट भएर चोली टिमिक्क कसियो । छिनेको कम्मर । कलाकारले मिहिनेत गरेर बनाएका मूर्तिका जस्ता नितम्ब । सुरिलो घाँटी । सुडौल पाखुरा । सुन्तलाका केस्राजस्ता मिलेका ओठ । मुन्नी हेर्दाहेर्दै तरुनी भई । मुन्नीको शरीरमा यौवनको मादकता भरियो । खासमा मुन्नी काली छे । गोरो रङलाई सुन्दरताको मानक मान्ने हो भने मुन्नी राम्री त होइन । तर, ऊ बिहानीको सूर्यजस्तो भर्भराउँदो ताजा देखिन्थी । कसैले जिस्काउँदा उसको गाला सिन्दूर–पोतेजस्तो लाल हुन्थ्यो । ऊ लाजले सिकुडिन्थी र झन् कमनीय देखिन्थी ।
मुन्नी व्यापार पनि राम्रो गर्थी । रजामका लोग्ने–स्वास्नी टोकरीमा तरकारी राखेर गाउँ घुम्दा आधाजसो पनि बिक्री हुँदैनथ्यो । फर्काएर ल्याउनुपथ्र्यो । तर, मुन्नी तरकारी लिएर गाउँ जाँदा टोकरी रित्याएरै फर्किन्थी । तरकारीको हारालुछजस्तै हुन्थ्यो । लाटी–बहिरी भए पनि मुन्नी हिसाबमा टाठी थिई । व्यापारमा बाठी पनि रहिछे भनेर रजाम–आविदाका लोग्ने–स्वास्नी मक्ख पर्थे । मुन्नी ठूली भइसकेकीले अब भाइको साथ पनि चाहिँदैनथ्यो । ऊ एक्लै जान्थी ।
पहिले पण्डित नित्यानन्द मुन्नीलाई छुँदैनथे । मुन्नीले तरकारी जोखिसकेपछि पोलिथिनको झोलामा राखेर अलक्क भुइँमा राखिदिन्थी र पण्डितले पनि पैसा भुइँमै राखिदिन्थे । मान्छे छुन नहुने तर त्यही मान्छेले उत्पादन गरेको तरकारी चाहिँ खान हुने उनको धार्मिक आडम्बर बुझिनसक्नुको थियो । तर, उनको धर्मको खोल अहिले उत्रिएको छ । उनी अब मुन्नीको हात छुन लालायित हुन्छन् । उनका आँखा टोकरीका काउली, बन्दातिर भन्दा मुन्नीको यौवनका अवयवतिर बढी जान्छ । मुन्नीको गलाबाट चुनरी चिप्लिँदा खुला हुने वक्षस्थलको अन्तरालमा पण्डितको नजर छेड्लाजस्तो गरी गढ्छ ।
गुरूप्रसाद मास्टरसाप पनि अहिले तरकारीको मोलतोल गर्न आफैँ तम्सिन्छन् । जब बाहिर मुन्नी आएको चाल पाउँछन्, उनी श्रीमतीलाई कुनै निहूँले भित्र बोलाउँछन् र आफू बाहिर निस्कन्छन् । मुन्नीका मादक वक्षमा आँखा गाड्दै बन्दा र फर्सीको डल्लोलाई मुसार्छन् र कल्पनामा हराउँछन् । ट्युसन पढ्न आउने अल्लारे ठिटाहरू पनि मास्टरसापको आँखा छलेर मुन्नीसँग जिस्किन चुक्दैनन् ।
चौकीका सिपाहीहरूको के कुरा ! कोही बिहे नै नभएका नवजवान पट्ठाहरू कहिल्यै स्त्री–संसर्ग नपाएकाहरू । कुनै जवान स्त्रीको कम्मरको खुला अग्रभागको दर्शनले मात्र पनि स्खलित हुनेहरू । बिहे भएकाहरू पनि महिनौँदेखि घरमा श्रीमतीलाई छाडेर बस्नु पर्दा चैत मासको छक्काल घाममा पानी पिउन नपाएर खरिएजस्ता । मुन्नी तरकारीको टोकरी लिएर चौकी छिर्नेबित्तिकै उनीहरूको धमनीमा रक्तप्रवाह यसरी बढ्छ, जसरी अकस्मात्को वर्षाले खहरे ह्वात्तै उर्लिन्छ । तर, के गर्ने ? चौकीमा असईसाप थिए । असईसाप हुँदा कुनै सिपाहीले मुन्नीको नजिक ढिम्किनै पाउँदैनथ्यो । मुन्नीसँग जिस्किने, छिल्लिने, तरकारीको झोला समात्दा हातै समात्ने एकलौटी अधिकार मानौँं असईसापले मात्र पाएका थिए । सिपाहीहरू बस्, मुन्नीको यौवनलाई परैबाट हेर्दै घाँटीबाट थुक घुटुघुटु निलिरहन्थे । कहिलेकाहीँ असईसाप चौकीबाट बाहिर निस्केका बेला भने केटाहरूलाई दसैँ आएजस्तो हुन्थ्यो ।
अरु त अरु, नाति–नातिनी भइसकेका विधुर जगन्नाथ प्रधान–बा समेत फुलिसकेका कपाल र जुँगामा कालो रङ लगाउन थालेका थिए । हल्का शारीरिक कसरत गर्न थालेका थिए । पञ्चायतकालीन प्रधानपञ्च भएकाले सबैले उनलाई प्रधान–बा भन्थे । सबैले सम्मान गर्थे । उनको सुषुप्त भइसकेको पुरुषत्व मुन्नीलाई देख्दा फेरि चलमलाउन थालेको थियो । मुन्नी तरकारी लिएर आँगनमा छिर्नेबित्तिकै बूढा परेवालाई दाना खुवाउने बहानामा बाहिर निस्कन्थे र मुन्नीको सौन्दर्यको चक्षुपान गर्थे । ससुराको हर्कत देखेर बुहारीहरू लाजले घुम्टो ओडी घरभित्र पस्थे ।
अरू जवान अल्लारे ठिटाहरूको त कुरै नगरौँ । भमराहरू फूलवरिपरि मडारिएजस्तै मडारिन्थे । मुन्नीको घुम्ती पसलको वरिपरि साइकल कुदाइरहन्थे । मुन्नीका बाबु–आमालाई वास्ता थिएन, छोरीले जो व्यापार राम्रो गरिरहेकी थिई ।
रजाम–आविदाको सबै कामधन्दा ठीकै चलिरहेको थियो । मुन्नीको रजस्वला अकस्मात् बन्द भयो । आमा आविदाले यसलाई सुरुमा सामान्य रूपमा लिइन् । आफ्नो रजस्वला अनियमित हुने, कहिले दुई–चार दिन छिट्टै हुने र कहिले दुई–चार दिन ढिला हुने भएकाले छोरीको पनि त्यस्तै भएको होला भन्ने सोचिन् ।
हप्ता बित्यो । दुई हप्ता बित्यो । महिना बित्यो । मुन्नीको मासिक धर्म सुचारु भएन । बरु ऊ त मोटाउन पो थाली । गाला भुक्क भयो । कम्मर सोलोडोलो हुन थाल्यो । स्तनको आकार बढेर चोली फुट्लाजस्तो भयो । खानामा अरुचि हुन थाल्यो । पिसाव फेर्न पनि तारन्तार जान थाली । पहिलाजस्तो हाँस्ने, रमाउने गर्न छोडी । काम गर्दा पनि छिट्टै गल्न थाली । विवाह नभएकी बहिरी छोरी गर्भवती भएको स्पष्ट लक्षण देखिन थाल्यो । आमा आविदा आत्तिन थालिन् ।
छोरीलाई लिएर अस्पताल जँचाउन गयो दम्पती । अब गर्भ बसेको पक्का भयो । बाबु रजामले रिसको झोकमा मुन्नीलाई मरणासन्न हुने गरी कुट्यो । कोसँग सुतिस् भनेर सोध्दा गाउँतिर देखाउँथी मुन्नी । बिचरा बोल्नै सक्दिनथी, कसको नाम लेओस् ?
भोलिपल्ट रजाम र आविदाका लोग्ने–स्वास्नी गाउँतिर निस्किए । मास्टरसापको घरमा गएर रोकिए । उनका कुनै विद्यार्थीले इज्जत लुटेछन् कि भन्ने प-यो । टयुसन पढ्न आउने सबै केटालाई जम्मा गरेर मास्टरसापले हकारे । केटाहरू सबैले अनभिज्ञता प्रकट गरे । त्यसपछि मास्टरसाप मेरा विद्यार्थीहरू त्यस्ता छैनन् भन्दै टक्टकिए ।
पण्डितका घरतिर गए । उनी तुलसीको मठमा पानी चढाउँदै थिए ।
“राम राम के सुन्नुपर्यो रु यस्ती लाटी बोल्न नसक्नेको इज्जत कसले लुट्यो होला ? त्यसको नर्कवास होस् ।” पण्डितले सहानुभूति प्रकट गरे ।
रजाम र आविदा त्यसपछि प्रहरी चौकी गए । कुनै सिपाहीले पो मुन्नीलाई पेट बोकायो कि हजुर भनेर असईसँग हात जोडे । असईले उल्टै हप्कीदप्की गर्यो । प्रहरीलाई दोष लगाए थुनिदिने धम्की दियो । उनीहरू भयभीत भएर फर्किए ।
त्यसपछि उनीहरू प्रधान–बाको घर गए । प्रधान–बाको रवैया पनि उस्तै थियो । “यो कहाँ–कहाँ जान्छे रु को–कोसँग लसपस गर्छे ? मैले के जानू ?” उनको भनाइ थियो ।
आशाको अन्तिम विन्दु गाउँमा एउटा आमा–समूह थियो । आमा समूहले गाउँमा मदिरा नियन्त्रण गर्ने, झैझगडा मिलाउने, सुलह गराउने काम गथ्र्यो । गाउँमा होहल्ला गर्नेहरू आमा समूहको नाम सुन्नेबित्तिकै थर्कमान हुन्थे । प्रहरीहरूले पनि आमा–समूहको काममा दखलअन्दाजी गर्दैनथे । रजामका बूढाबूढी आमा समूहकी नाइके दुर्गादेवीको घर पुगे ।
दुर्गादेवीले अर्को हप्ता गाउँका सबै पुरुषलाई भेला हुन उर्दी जारी गरिन् । रजाम–आविदाले मुन्नीलाई लिएर आए । ठूलो भीड जम्मा भयो ।
“ल मुन्नी, देखा– यिनीहरूमध्ये कसको गर्भ तेरो पेटमा छ ?” दुर्गादेवीले मुन्नीलाई भनिन् ।
मुन्नीले भीडतिर हेरी । दोहो-याई–तेह-यार्ई नजर घुमाई । त्यहाँ गर्भदाता नभएको सङ्केत गर्दै मुन्टो हल्लाई र भुइँतिर निहुरी ।
भीडमा प्रहरी चौकीका सबै सिपाही थिए । असईसाप थिएनन् । उनी जिल्ला प्रहरी कार्यालय गएका रहेछन् । कानुनका पालक, जनताका सुरक्षामा समर्पित प्रहरीका हाकिमलाई शङ्का गर्ने कुरै भएन ।
प्रधान–बाका छोराहरू सबै थिए तर प्रधान–बा थिएनन् । उनलाई हनहनी ज्वरो आएकाले ओछ्यान परेका रे ! त्यस्ता बुज्रुक, नाति–नातिनी भइसकेका बूढा, सबैले मानेका व्यक्तित्वबाट त्यस्तो कुकर्म कसरी होला र ?
भीडमा गुरूप्रसाद मास्टरसापसँग ट्युसन पढ्न आउने सबै केटाहरू थिए तर मास्टरसाप भने थिएनन् । त्यही दिन शिक्षा कार्यालयमा जरूरी काम परेको भनेर सदरमुकाम गएका रे ! ज्ञानगुन बाँड्ने, चेतनाको ज्योति छर्ने र नैतिकता सिकाउने शिक्षकबाट त्यस्तो अनैतिक कार्य कसरी भयो होला र ?
पण्डित नित्यानन्द एउटा जजमानको घरमा एकाह लगाउनुपर्ने भएकाले नआएका रे ! त्यस्ता बाल–ब्रह्मचारी, धर्मग्रन्थका ज्ञाता, पाप–धर्म के हो भन्ने राम्रो जानेका व्यक्तिबाट सीधै नर्क जाने काम भयो होला र ? नर्कमा भकभक उम्लिएको तातो तेलमा डुब्ने रहर यिनलाई होला र?
आमा समूहले यी अनुपस्थित व्यक्तिबारे एकरत्ति पनि शङ्का गरेन । रजाम र आविदा मुन्नीलाई लिएर निराश हुँदै फर्किए । बाटोमा मुन्नी पण्डितको घर अघि पुगेपछि टक्क अडिई । पण्डितको घरको ढोका बन्द थियो । बाहिरबाट ताल्चा मारेको थियो । मास्टरसापको घर अगाडि पनि रोकिई र आँगनमा के ओर्लिएकी थिई, मास्टर्नी कुचोले ठटाउँछु भनेर जाई लागिहालिन् । प्रधान–बाको घरको गेट नै खुलेन । चौकीमा पनि मुन्नी अडिई । सन्तरी बसेको सिपाहीले भित्र छिर्नै दिएन । थकित अनि बदनामीले लज्जित उनीहरू आफ्नै कर्मलाई दोष दिँदै फर्किए ।
त्यसको केही दिनपछि मुन्नीको परिवार एकाएक हरायो । उनीहरूको घुम्ती पसल खुलेन । झुपडीको ढोका ढप्किएको थियो । न त उनीहरूलाई कसैले तरकारीको टोकरी बोकेर हिँडेको देखे । कहाँ गए थाहा भएन । उनीहरूको बारीमा फलेका तरकारीहरू त्यत्तिकै पाकेर कुहिन थाले । कोही गाउँलेहरूले टिपे । केही गाईबस्तुले खाए । उनीहरूको कच्ची घरको भित्तामा भ्वाङ पर्न थाल्यो । आँगनमा लेउ पर्यो । पालीको छाना खस्यो । पछि त जमिनवालाले त्यो झुपडी पनि भत्काएर त्यहाँ एउटा पक्की घर ठड्यायो । त्यसपछि मुन्नीको परिवारको अवशेष केही बसेन । गाउँलेले मुन्नीलाई बिर्सिए । रजामको परिवार कुनै समय त्यहाँ बस्थ्यो भन्ने कुरो उनीहरूको मानसपटलबाट विलीन भयो ।
समय बित्दै जाँदा त्यो गाउँ बिस्तारै एउटा बजारमा विकसित भयो । पहिला लडिया, साइकल चल्ने कच्ची, धुले सडक पिच भएपछि मोटरसाइकल र गाडी गुड्ने भयो । सडक दायाँबायाँ सटर भएका पक्की घर खडा भए । पसलहरू थपिँदै गए । बिजुली आयो । फोन र इन्टरनेट चल्यो । पुराना थुप्रै मानिस बजारले विस्थापित भए । धेरै नयाँ मानिस आए ।
प्रधान–बा परलोक भए । असईसाप त उहिल्यै काजमा गएका कहिल्यै फर्किएनन् । पण्डित देवघाटतिर गए । उतै आश्रममा बस्छन् रे ! मास्टरसाप पनि ‘रिटायर्ड’ भए । रोगले थलिएर ओछ्यान परेका छन् ।
बजारका रूपमा विकसित भएको त्यो गाउँमा अहिले एउटी बहिरी, पागल आइमाई देखिन्छे । जगल्टा परेको कपाल, फाटेको, मयलले कटकटिएको लुगाले बेरिएको अर्धनग्न शरीर लिएर ऊ सडकमा ओहोरदोहोर गर्छे । ऊसँग हमेसा एउटा टोकरी हुन्छ । टोकरीमा ढुङ्गा र टिनको बट्टा के–के बोकेर हिँड्छे । कहिले चौकीको अघि पुग्छे त कहिले प्रधानबा–को घरको गेट खट्खटाउँछे । मास्टर–सापको घरको आँगनमा पनि घरीघरी पुग्छे । मास्टर्नी बूढी सदाझैँ कूचो लिएर जाई लाग्न छोड्दिनन् । पागल्नी आफ्नो टोकरी सम्हाल्दै भाग्छे ।
पण्डितको घरमा अहिले अरु नै कोही बस्छ । त्यहाँ पनि ऊ कहिलेकाहीँ पुग्छे । चिन्नेहरू कसैले टिठ गरेर केही खान पनि दिन्छन् । नचिन्नेहरूले पागल आइमाई कहाँबाट आई भनेर लघार्छन् । अलि पर पुगेर बिचरी फेरि फर्किन्छे । यो क्रम चलिरहन्छ । बस्, चलिरहन्छ ।