काठमाडौं । पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशको हितमा रहेको बताएका छन्। यो सम्झौता संसदबाट कुनै पनि हालतमा पारित हुनुपर्ने जिकिर समेत गरे।
प्रतिनिधि सभामा बिहीबार बोल्दै कार्कीले यो सम्झौता आफू अर्थमन्त्री बन्दा गरेको बताउँदै धेरै व्यक्तिको यसमा योगदान रहेको बताए। उनले भने-‘एमसीसी नेपालको लागी गेम चेन्जर प्रोजेक्ट हो, यो परियोजना विश्वका ५० भन्दा बढी देशहरुले सहभागिता जनाइसकेका छन्। त्यसैले यसको प्रयोग नेपालले पनि गर्नुपर्छ।'
एमसीसीको विषयमा सत्तारुढ दलकै नेताले भ्रम फैलाएको उनले आरोप लगाए । उनले भने-‘यो सम्झौताबाट अमेरिकी सेना नेपालमा आउने कुरा निराधार हो। यो सम्झौता नेपालको संविधानभन्दा माथि छैन।’ कार्कीले आयोजनाको ठेक्का प्रक्रिया ग्लोबल टेन्डरबाट हुने बताउँदै ती आयोजनाबाट नेपाली समाजको उन्नति हुने बताए।
एमसीसीमा नेपालका अधिकांश शीर्ष नेताहरुको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता रहेको उनको जिकिर थियो ।