लमजुङमा ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु, एक घाइते

लमजुङमा ढुङ्गा खसेर लाग्दा एक जनाको मृत्यु, एक घाइते

लमजुङ । ढुङ्गा खसेर लाग्दा लमजुङ जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ३० मेगावाटको ङादी जलविद्युत् आयोजनामा कार्यरत कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन् । आयोजनाको क्यामबाट बा २ प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा माथिबाट ढुङ्गा खसेर ट्रकमा लाग्दा घाइते भएका चालक उबक्सीको उपचारका क्रममा आज बिहान मृत्यु भएको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।  ढुङ्गाले ट्रकमा समेत क्षति पुगेको छ  । 

त्यस्तै आयोजनाकै इञ्जीनियर लुच्याङ  घाइते हुँदा बेँसीशहरमा रहेको मोडल अस्पतालमा उपचार भइरहेको अधिकृत गुरुङले जानकारी दिए । दुवै चिनियाँ नागरिक हुन् ।  मृतक उवक्सीको घुँडा र टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको आयोजनाले जनाएको छ ।  

मृतक र घाइते दुवै जनालाई काठमाडौँ लैजाने तयारी भएको र शव बेँसीशहरमै परीक्षण गर्नुपर्ने प्रहरीको भनाइ रहेकाले लैजान ढिलो भइरहेको बताइएको छ ।