नयाँ नक्सा आजै राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण हुने

नयाँ नक्सा आजै राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण हुने

काठमाडौं । नेपालको नयाँ नक्सा आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण हुने भएको छ । संघीय संसदका तल्लो, माथिल्लो दुवै सदनबाट नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुन लागेको हो ।  

राष्ट्रियसभाबाट संशोधन विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिइने कार्यक्रम छ । त्यसपछि प्रतिनिधिसभामा पारित भएको सन्देश सुनाएर सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपालको निशान छापमा अद्यावधिक नक्सा समेटिने छ । 

नेपालको अद्यावधिक नक्सा अनुसार निशान छापमा रहेको नक्सा परिमार्जनका लागि बिहीबार राष्ट्रियसभाबाट सर्वसम्मतिले संशोधन पारित भएको हो । बिहीबार राष्ट्रियसभामा छलफल पछि भएको मतदानमा जम्मा उपस्थित ५७ जना सांसद सबैले संशोधनको पक्षमा मतदान गरेका थिए ।  

जम्मा ५९ जना राष्ट्रियसभा सदस्य भएपनि अध्यक्ष एकजनाले मतदान गर्न पाउँदैनन् भने एक सिट खाली छ। उपस्थित सबै सांसदहरुले विधेयकको पक्षमा ९हुन्छ भन्ने पक्षमा० हस्ताक्षर गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।