नेपोलीले जित्यो कोप्पा इटालियाको उपाधि, युभेन्टस ४-२ले पराजित

नेपोलीले जित्यो कोप्पा इटालियाको उपाधि, युभेन्टस ४-२ले पराजित

एजेन्सी । युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोप्पा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा खेलमा नेपोलीले युभेन्टसमाथि पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै उपाधि हात पारेकाे हाे ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थप समय नखेलाई सोझै पेनाल्टीमा लगिएको थियो । खेल अवधिमा उत्कृष्ट प्रदर्शन गरेपनि युभेन्टस पराजित हुन पुग्यो ।

योसँगै नापोलीले अहिलेसम्म छैटाैं पटक कोपा इटालीको उपाधि जितेको छ भने युभेन्टसले यस अघि १३ पटक उपाधि जितेको छ ।

पेनाल्टी सुटआउटमा युभेन्टसका लागि पहिलो र दाेस्राे प्रहार नै विफल भएको थियो । पाउलो डिबालालेले प्रहार गरेकाे पेनाल्टी नेपोलीका गोलरक्षक एलेक्स मेरेटले  बचाएका थिए । ड्यानीलोले गरेको दोस्रो प्रहार भने पोस्टभन्दा निकै माथि आकासिएको थियो ।

तेस्रो प्रहारका रुपमा लिओनार्डो बोनुची र चौथो प्रहारमा आरोन राम्सीले भने गोल गरेका थिए । नेपोलीका लागि कप्तान लोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र अर्कादिउस्ज मिलिकले गोल गरेका थिए ।