नयाँ संक्रमित कुन जिल्लाका कति ?

नयाँ संक्रमित कुन जिल्लाका कति ?

काठमाडौं । २४ घण्टायता नेपालमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशका ७३ जिल्लामा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६ हजार ५९१ पुगेको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापा र पाँचथरका एक एक जनामा कोरोना संक्रमण पाइएको छ। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी र सिराहाका २-२ जनामा कोरोना संक्रमण भएको पाइएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा रौतहटका ३८ जना र महोत्तरीका १७ जनामा समेत कोरोना संक्रमण पाइएको छ भने नारायणी अस्पतालको प्रयोगशालामा पर्साका २ जनामा समेत कोरोना संक्रमण भएको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका १० नवलपरासी पूर्वका २, बागलुङका १, तनहुँका २, कास्कीका ३ र स्याङ्जाका ४ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। 

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १, बैतडीका २१, डोटीका २०, कञ्चनपुरका ११, कैलालीका २३ जना समेत संक्रमित पाइएका छन्। भेरी अस्तपालको प्रयोगशाला परीक्षणमा बाँके १ र बर्दियाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी राजविराजस्थित प्रयोगशालामा सप्तरीका ३ जनामा समेत कोरोना संक्रमण पाइएको ५। यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका १ जना समेत संक्रमित पाइएका छन्। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीको प्रयोगशालामा अर्घाखाँचीका ३ जना र रुपन्देहीका १ जनामा समेत कोरोना संक्रमण पाइएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला  सुर्खेतमा दैलेखका ५ जना र सुर्खेतका ९ जनामा समेत कोरोना संक्रमण पाइएको छ। धुलिखेलको प्रयोगशाला धनुषाका २१ जना र रामेछापका १ जना समेत कोरोना संक्रमित पाइएका छन्। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ५६ र सल्यानका १ जना संक्रमित पाइएका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अर्घाखाँचीका ६, काठमाडौंका १, महोत्तरीका ७२, मोरङका १, रौतहटका १४, रोल्पाका १, रुपन्देहीका ३ र सर्लाहीका १६ जनामा समेत कोरोना संक्रमित पाइएका छन्।