काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने भएको छ । काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति चाहिने व्यवस्था प्रशासन कार्यालयले गरेको हो ।
यात्राका लागि जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति चाहिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । उपत्यकाको स्थानीय तहको स्वीकृतिपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिनेछ ।
काठमाडौं उपत्यकाबाट बाहिर जान प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौंमा भने सवारी पास नचाहिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । जिल्लाभित्र जोर-बिजोर प्रणाली लागू भइसकेकोले काठमाडौं जिल्लाभित्रको लागि सवारी पास हाललाई बन्द गरिएको कार्यालयले जनाएको छ ।