कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृतकको संख्या १८ पुग्यो

कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृतकको संख्या १८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको घण्टाघर स्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका व्यक्तिको परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ । अन्दाजी २५ वर्षका पुरुषको बेवारिसे अवस्थामा बिहीबार दिउँसो शव भेटिएपछि स्वाब संकलन गरी परीक्षण गरिएको थियो । मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन ।

त्यस्तै वीरगञ्ज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर अस्पतालमा शुक्रबार मृत्यु भएका पाँच वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आएपछि बारा निजगढका ति बालकको स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि नारायणी अस्पताल पठाइएको थियो । परीक्षणका क्रममा उनमा पनि संक्रमण पुष्टि भएको हो ।

निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।