दश अर्ब खर्चबारे शंकर पोखरेलको टिप्पणीः खर्च बढी भयो भनेर अविश्वास गर्ने अनि एक घर एक पीसीआर परीक्षणको माग गर्ने?

दश अर्ब खर्चबारे शंकर पोखरेलको टिप्पणीः खर्च बढी भयो भनेर अविश्वास गर्ने अनि एक घर एक पीसीआर परीक्षणको माग गर्ने?

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोभिड १९ को सङ्क्रमण नियन्त्रण, परीक्षण र उपचारमा अहिलेसम्म भएको खर्चको पारदर्शीताका नाममा उठाइएका मागले जनसमुदायलाई नै भ्रमित बनाइरहेको र परीक्षण तथा उपचारमा प्रतिकूल असर पुर्याइरहेको बताएका छन् ।

सरकारले अहिलेसम्म गरेको खर्चका विषयमा नागरिकस्तरमा उठेका प्रश्नका विषयमा मुख्यमन्त्री पोखरेलले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कोरोना महामारीमा अहिलेसम्म भएको खर्चका बारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पङ्क्ति फराकिलो देखिँदै जाँदा यसले परीक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको बताए । 

उनले सामाजिक सञ्जालमार्फत आज सार्वजनिक गर्नुभएको आफ्नो धारणामा खर्च पारदर्शी र विधिसम्मत हुनुपर्ने भन्ने विषयमा कुनै छुट हुन नसक्ने तर, सङ्कटका समयमा सामान्य अवस्थाको जस्तो प्रक्रियामा अल्झने अवस्था पनि नरहेकाले अहिलेको समय भनेको खर्च गर्ने जिम्मेवार बन्ने र वाचडगको भूमिकामा रहेकाले धैर्य गर्नु नै हो भने । 

उनले अहिले जति खर्च भएको छ त्यो सङ्कटको सापेक्षतामा निकै कम रहेको र सार्वजनिक भएको हिसाब पनि अनुमान मात्र रहेको स्पष्ट पारे । मुख्यमन्त्री पोखरेलले विदेशबाट स्वदेश फर्कनेको सङ्ख्या वृद्धिसँगै कोरोना परीक्षण र उपचारमा खर्च हुने शुरु हुने अवस्था आएको बताउँदै यतिबेला सरकारले अझै ठूलो खरिद गरेर थप तयारी गर्नुपर्ने अवस्था आएको बताए । अहिलेसम्म सङ्घ, प्रदेश र स्थानीय तहले खर्चको व्यवस्थापन गरेका छन् । 

उनले वास्तविक खर्च भुक्तानी भएसँगै सरकारी लेखामा देखिने बताएका छन् । उनले यसका साथै उपचार र परीक्षणमा संलग्नले पाउनुपर्ने जोखिम भत्ता अहिले नै पाइनसकेको त्यो जोडिँदा अहिलेको खर्च अझै बढ्न सक्ने अनुमान गरे ।

मुख्यमन्त्री पोखरेलले अहिले नै खर्च बढी भयो भनेर अविश्वास पनि गर्ने र एकघर एक पिसिआर परीक्षणको माग आउनु आफैंमा विरोधाभाषपूर्ण देखिएको टिप्पणी गरे । उनले एक घर एक पिसिआर परीक्षण गर्दा परीक्षणमा मात्रै न्यूनतम रु ५० देखि ६० अर्ब खर्च लाग्न सक्ने भन्दै रातारात त्यत्रो खर्चको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति र सामथ्र्य सम्भव नभएकाले यस्ता अव्यावहारिक कुरा गर्न नहुने बताए ।