सर्लाही । पूर्वदक्षिण क्षेत्र पर्सा गाउँपालिका ३ नारायणपुरसँगको सीमा नाकामा शुक्रबार सशस्त्र प्रहरी र भारतीय नागरिकबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा सशस्त्रका ३ र भारतीय २ नागरिक घाइते भएका छन्।
शुक्रबार बिहानै भारतीयहरु जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा भारतीयहरु सशस्त्र प्रहरीमाथि आक्रमणमा उत्रिँदै हतियार खोसेका थिए । झडपमा २७ वर्षीय भारतीय नागरिक विकेश कुमारको मृत्यु भएको हो।
झडपमा प्रहरीले १५ राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ । झडप भएको सीमा क्षेत्रमा अहिले दुवै तर्फबाट सुरक्षाकर्मी व्यापक मात्रामा तैनाथ छन्। सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले सीमाको अवस्था अहिले सामान्य रहेको बताउँदै झडपमा तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भएका पुष्टि गरे।