लकडाउन पूर्णरुपमा खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारलाई सर्वोच्चको आदेश

लकडाउन पूर्णरुपमा खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले असार ७ गतेभित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ। उक्त सूचना खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । सर्वोच्चको लिखित आदेशमा लकडाउन पूर्णरुपमा खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो । लकडाउनलाई अदालतले समेत शून्य अवधि कामय गरेको अवस्थामा सरकारले निकालेको सूचना गैरकानुनी भएको भन्दै अधिवक्ता थानेश्वर काफ्लेले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माले दुवैपक्षको बहस सुनेर मात्र अन्तरिम आदेशबारे निर्णय गर्न आदेश दिएका थिए ।

दुवै पक्षको बहसपछि असार ७ गतेसम्म कर तिर्नु भन्दै सरकारले गरेको सूचना खारेज गर्न अन्तरिम आदेश भएको हो । सरकारले जेठ २० गते सूचना जारी गरी जेठ २५ गतेसम्म सरकारलाई बुझाउनुपर्ने कर बुझाइसक्न करदातालाई भनेको थियो। यो म्याद पछि बढाएर असार ७ गतेसम्म पुर्‍याइएको थियो ।

कोरोना जस्तो संक्रामक रोग फैलिएका कारण भएको लकडाउनको समयमा करदाताहरू कर तिर्न जानै नसक्ने हुँदा लकडाउन सकिएको ३० दिनभित्र कर बुझाउन मिल्ने गरी आदेशको माग गर्दै अधिवक्ता काफ्लेले  रिट दायर गरेकी थिए ।

हेर्नुहोस् आदेशको पूर्णरुप