खाडीका देश र मलेसियामा झण्डै ११ हजार नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

खाडीका देश र मलेसियामा झण्डै ११ हजार नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । खाडीका देश र मलेसिया रहेका नेपाली दूतावास र गैरआवसीय नेपाली संघ (एनआरएनए)का अनुसार यी देशमा १० हजार ९ सय ३७ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

नेपाली दूतावास र गैरआवसीय नेपाली संघ एनआरएनएका अनुसार अहिलेसम्म साउदीमा १३ सय ६४, बहराइनमा ३३१, यूएईमा १६ सय , कुवेतमा ६५०, कतारमा ६ हजार ९ सय ११ जना , मलेसियामा ८१ जना गरी जम्मा १० हजार ९ सय ३७ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

मलेसियामा बाहेक खाडीका अरु देशले कोरोनाबाट निको हुने नेपालीको सङ्ख्या खुलाएका छैनन् । तर यी देशमा कोरोनाबाट निको हुनेको सङ्ख्या उल्लेख्य रहेको र त्यसमध्ये कोरोना सङ्क्रमित नेपाली पनि धेरैजसो निको भएको यी देशको भनाइ छ । मलेसियामा कोरोना सङ्क्रमित २२ नेपाली  निको भएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी  दिएको छ । यूएईमा कोरोनाका कारण १८, साउदीमा ९ जना र कतारमा ४ गरी ३१ जना नेपालीको ज्यान गएको छ । 

विश्वका दुई सय १३ देशका ७३ लाख ५६ हजार १०१ जनामा सङ्क्रमण फैलिसकेको छ । ४ लाख १४ हजार ४३० जनाको ज्यान गएको छ भने ३६ लाख २९ हजार ६२६ जना निको भएका छन् ।  खाडीका देश र मलेसियामा मात्रै ३ लाख ३ हजार ३५ जनामा सङ्क्रमण फैलिसकेको छ । एक लाख ९५ हजार ८४७ जना निको भएका छन् भने १६ सय ७८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।