एमसीसी सम्झौता तलमाथि नगरी पास गर्नुपर्छ, नत्र अन्तराष्ट्रिय सम्बन्ध बिग्रन्छ: अर्थमन्त्री खतिवडा

एमसीसी सम्झौता तलमाथि नगरी पास गर्नुपर्छ, नत्र अन्तराष्ट्रिय सम्बन्ध बिग्रन्छ: अर्थमन्त्री खतिवडा

काठमाडौं । एमसीसीलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेका बेला अर्थमन्त्री  डा. युरज खतिवडाले सम्झौता नेपालको हितमा भएकाले यसलाई तोड्न नसकिने बताएका छन् । मंगलबार संसदमा मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले एमसीसी सम्झौता तोड्दा नेपालको अन्तराष्ट्रिय सम्बन्धमै असर पर्ने भन्दै यसबारे विचार गर्न संसदलाई आग्रह गरे।

उनले एमसीसीसँग जोडिएका सहायक सम्झौता सच्याउन सकिए पनि मुल सम्झौतामा तलमाथि गर्न नहुने प्रष्ट पारेका हुन् । खतिवडाले भने, ‘सहायक सम्झौताहरुमा सच्याएर जान सकिन्छ। अहिले नै सम्झौता तोडेर जान सकिँदैन। अन्तराष्ट्रिय सम्बन्ध बिगार्न सकिँदैन । अर्थ मन्त्रालयमा को थियो भन्ने भन्दा पनि नेपालको पक्षबाट गरिएको सम्झौता हो। यसको कार्यान्वन हुनुपर्छ। संसदले विचार गरोस् ।’

एमसिसी सम्झौता अनुमोदनका लागि एक वर्षअघि नै संसदमा पेश भए पनि नेकपाभित्रको विवादका कारण अल्झिरहेको छ। सत्तारुढ नेकपाभित्र एक पक्ष सम्झौतालाई अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएको छ ।

उक्त सम्झौताअनुसार नेपाललाई अमेरिकाले ५५ अर्ब रुपैयाँ ऊर्जा र सडकमा खर्च गर्ने गरी दिने उल्लेख छ ।