आयशा र दीपकको मनकारी जोडी, लकडाउनले समस्यामा परेकालाई गरिरहेछन् यस्तो सहयोग

आयशा र दीपकको मनकारी जोडी, लकडाउनले समस्यामा परेकालाई गरिरहेछन् यस्तो सहयोग

काठमाडौं ।  ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग)की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले लकडाउनले समस्यामा परेकाहरुलाई निरन्तर सहयोग गर्दै आएका छन् । पछिल्लो समय शुक्रबार कठिन अवस्थामा रहेका झन्डै २ सयलाई खाना खुवाएका छन् ।  भक्तपुरको ठिमीमा रहेका सडक बालबालिका, भक्तपुर क्यान्सर अस्पतालमा रहेका पीडित र उनीहरुका आफन्त तथा कोरोना भाइरस कोभिड १९ का कारण कामविहिन भएका झन्डै २ सय जनालाई खाना खुवाएका छन् । 

ठिमीको एक खाली चौर, क्यान्सर अस्पतालको बाहिर र सूर्य विनायक चोक नजिक खाना खुवाइएको थियो । मानव सेवा आश्रमको भक्तपुर कौशलटारस्थित प्रदेश ३ को कार्यलयसँगको सहकार्यमा दीपक र आयशाको जोडीले खाना खुवाएका हुन् । 

दीपक र आयशाको जोडीले कीर्तिपुरको नगाँउका ३५ दृष्टिविहिनलाई र बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरेका छन् । सागका पदक धारी खेलाडी मन्डेकाजी श्रेष्ठ, अनु अधिकारी, उषा भण्डारीलगायतले पनि लकडाउनका कारण कठिनाईमा परेका मजदुर र अन्यलाई खाद्यान्न सहयोग गर्दै आएका छन् ।

मंसिरमा सम्पन्न १३ औं सागमा आयशाले तेक्वान्दो पुम्सेमा दोहोरो स्वर्ण पदक जितेकी थिइन् । दीपकले सागमा लागतार ४ स्वर्ण पदक जित्दै कीर्तिमान रचेका थिए । विष्ट र शाक्य नाताले श्रीमान् श्रीमती हुन् ।