काठमाडौंका चार जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौंका चार जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । काठमाडौंमा चार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । 

शनिबार कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । डोल्पाका एकजना ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार डोल्पामा गत जेठ २१ गते राति २ बजेतिर एकजनाको मृत्यु भएको छ । 

५८ वर्षीय पुरुष १६ गते सुर्खेतबाट गएर १८ गतेदेखि क्वारेन्टिनमा थिए । उनी दमको रोगी भनेर जानकारी प्राप्त भएको देवकोटाले जानकारी दिए । त्यसैगरी मिर्गौलाको समस्या भएकी महिलाको धनगढीको सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।