रामेछाप । गोकुलगंगा गाउँपालिकाको क्वरेन्टीनमा राखिएका कोरोना सङ्क्रमित युवक सम्पर्कविहीन भएपछि खोजी कार्य जारी रहेको छ । सङ्क्रमित युवक शुक्रबार दिउँसोदेखि फरार रहेका छन् । गाउँपालिकाले निर्माण गरेको क्वरेन्टीनमा बसेका ती युवासँगै ११ जनाको स्वाब परीक्षणको लागि धुलिखेल पठाइएकोमा उनीहरुको रिपोर्ट नआउँदै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले सबैजनाको रिपोर्ट नेगेटिभ आएको भन्दै बिदाइ गरेर घर पठाएका बुझिएको छ ।
क्वरेन्टीन स्थलबाट घरतर्फ लागेका युवाहरुले वेताली बजारमा घुमफिर गरी सामानहरु समेत किनेर घरतर्फ लगेका पाइएको प्रहरीले जनाएको छ । क्वरेन्टीनबाट युवाहरु घर गएको केही बेरमै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवारणमा ११ जनाकै रिपोर्ट पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयले रिपोर्ट सार्वजनिक गरेसँगै गाउँपालिका प्रमुखले क्वरेन्टीनमा बसेका सबैजनालाई फेरि क्वरेन्टीनमा फर्कीन टेलिफोन मार्फत अनुरोध गरेर पालिकाकै सवारीसाधनमार्फत फर्काएकाभएपनि एक गोकुलगंगागाउँपालिका वडा नं ४ वेतालीका युवक भने सम्पर्कविहीन भएका हुन् ।
कोरोना पुष्टि भएका ती युवकको खोजिको लागि वेताली प्रहरी चौकीवाट प्रहरी परिचालन गरिएको छ । हिजो अपरान्हदेखि हराइरहेका युवक अहिलेसम्म भेटन नसकिएको जिल्लाप्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।