महिना दिनभित्रै संक्रमित २० हजार र मृतक ५ सय पुग्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी

महिना दिनभित्रै संक्रमित २० हजार र मृतक ५ सय पुग्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी

काठमाडौं । कोरोना भाइरस संक्रमित नेपालीको संख्या एक सातामै तेब्बर बढेको छ । जनस्वास्थ्य विज्ञहरुले महिनादिन नपुग्दै संक्रमितको संख्या २० हजार पुग्ने र ४ सयदेखि ५ सयको मृत्यु हुने चेतावनी दिएका छन् । 

पछिल्ला ५ दिनमा लगातार २ सयभन्दा ज्यादा संक्रमित थपिएका छन् । जेठ २३ मा २ सय ७८ थपिँदा जम्मा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । संक्रमणको स्थिति हेर्दा ५ दिन पहिले १ हजारको हाराहारीमा थियो भने २७ दिन पहिले एक सयभन्दा कम थिए । ७७ जिल्लामध्ये ६८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । 

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल स्वयंले महिनादिनभित्रै १५ हजार संक्रमित पुग्ने सार्वजनिक रुपमा बताइसकेका छन् । लकडाउनको ७४ दिन बितिसक्दा मुलुकमा आईसीयू र भेन्टिलेटर थपिएका छैनन् । देशभरिका १ सय अस्पतालमा आइसोलेसन बेड १ हजार ६ सय २४ मात्र तयार छन् । बेड अपुग हुने भएपछि लक्षण नदेखिएका बिरामीलाई घरकै आइसोलेसनमा राख्ने कार्यविधि स्वास्थ्य मन्त्रालयले बनाएको छ । 

मुलुकमा जति परीक्षण बढायो, उति संक्रमित फेला पर्ने अवस्था छ । सबभन्दा चिन्ताजनक त के भने अहिलेसम्म ३ सय ३३ जना मात्र कोरोना निको भएर घर फर्केका छन् । संक्रमितको औसत अस्पताल बसाइ १६ दिन रहेको छ । 

हालसम्म कोरोना नियन्त्रण, उपचार, क्वारेन्टिन, राहत वितरणका नाममा ९ अर्ब ८७ करोड खर्च भएको सरकारको दाबी छ । तर अहिलेसम्मको कार्यप्रगति बढीमा ०.१ प्रतिशत मात्र हो । कोरोना भरखर संक्रमणको चरणमा प्रवेश गर्दा स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य विपद् (संकटकाल) घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

नेपालमा संक्रमितको संख्या भारतबाट आउने प्रवासी श्रमिकको संख्यामा निर्भर हुने जनस्वास्थ्यविज्ञहरुको धारणा छ । भारतले ३० लाखदेखि ६० लाख नेपाली भारतमा काम गरिरहेको दाबी गरे पनि नेपाल सरकारसँग यसको यकिन संख्या छैन । गृह मन्त्रालयको अनुमानमा भारतमा १० लाखजति नेपाली छन् । भारतबाट ५ लाख मात्र नेपाली आउँदा पनि संक्रमण र मृत्युदरले दुवै भयावह रुप लिने जनस्वास्थ्यविज्ञहरु बताउँछन् । 

अहिले ७० लाख नेपाली विदेशमा रहेको अनुमान छ । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार नेपाली विदेशमा थिए । विदेशमा रहेका ५ लाख नेपालीले तत्काल स्वदेश फर्कन चाहेका छन् । नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार र साउदी अरबमा जेठ २३ दिउँसोसम्म तत्काल स्वदेश फर्कनुपर्ने अवस्थाका २३ हजारभन्दा बढी श्रमिकले आवेदन दिएका छन् । 

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार श्रम स्वीकृति लिएर विदेश गएका मात्र १५ लाख नेपाली छन् । तीमध्ये दैनिक १ हजार ५ सय २७ जनाको करार सम्झौता अवधि समाप्त हुन्छ । 

त्यही आधारमा ७४ दिनमा कम्तीमा १ लाख १२ हजार ९ सय ९८ करार सकिएका नेपालीलाई घर फर्काउनुपर्ने हुन्छ । करार अवधि सकिएका, बिरामी तथा गर्भवती, रोजगारी गुमाएका, कम्पनीमा राजीनामा दिएका र छुट्टीमा फर्कन चाहनेको संख्या लाखौं पुग्न सक्छ ।