कोरोना संक्रमणबाट थप एकको मृत्‍यु, मृत्यु हुनेको संख्या ११ पुग्यो

कोरोना संक्रमणबाट थप एकको मृत्‍यु, मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना २० वषीय युवामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको हो ।

क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगरमा मृतकको स्वाबको पिसीआर परीक्षण गरिएको हो । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने नेपालमा ११ पुगेको छ । यसअघि शनिबार दैलेख दुल्लुका ३५ वर्षीय युवकको क्वारेन्टिनमै मृत्यु भएको थियो । 

पञ्चपुरी नगरपालिका–१ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार यही जेठ ९ गते भारतको मुम्बइबाट आएका उनलाई अन्य ५४ जनासँगै विद्यापुरस्थित जनता मावि क्वारेन्टिनमा राखिएको थियो । बुधबार साढे ४ बजे आरडिटी  गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई होम क्वारेन्टिन बस्ने शर्तमा पठाइएको थियो । सोही राति साढे १२ बजे घर पुगेका ती युवक नजिकैको मौरीपालन स्रोत केन्द्रको भवनमा बसेका थिए । वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टिनमा बसेका व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी भइरहेको बताए । 

नगरप्रमुख उपेन्द्रबहादुर थापाले  शवलाई प्रहरीले सुरक्षा दिइरहेको र वीरेन्द्रनगरबाट सेनाको टोली आइपुगेपछि व्यवस्थापन गरिने जानकारी दिए । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली खटिएको बताए।