विदेशमा रहेका नेपालीको उद्धार शुरु, म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगे

विदेशमा रहेका नेपालीको उद्धार शुरु, म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार शुरू गरिएको छ । दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो ।

पहिलो चरणमा आज म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।  युनाइटेड अरब इमिरेट्स (युएई)बाट २१० जना नेपाली ल्याउने तयारी भएपनि त्यहाँ सार्वजनिक विदा परेकोले स्थगित भएको नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उद्धार गरेर ल्याएका नेपालीहरूलाई नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ । त्यहाँ स्वास्थ्य परीक्षण लगायतका काम सकेर संक्रमण नदेखिए उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन
विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको हो । 

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वेच्छिकरूपमा होटल क्वारेन्टिनमा समेत राख्न सक्ने व्यवस्था भएअनुसार होटल क्वारेन्टिन व्यवस्थित गर्न जिल्लास्थित होटल व्यवसायीसँग समन्वय भइरहेको जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विदेशबाट फर्किएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको बताए । उनले भने, “होटल व्यवसायीले क्वारेन्टिन व्यवस्थित गर्न सहयोग गर्ने भएका छन्, हामी होटललाई समेत क्वारेन्टिन बनाउने तयारीमा जुटिसकेका छौँ ।”
 
नेपाल–भारत सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई सम्बन्धित व्यक्तिको बसोबास रहेको स्थानीय तहसम्म पुयार्उन स्पष्ट ठेगानासहित सूचना आदान–प्रदान गर्न र सहजीकरण गर्न धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणलाई जिम्मेवारी दिइएको छ । साथै स्थानीय तहमा रहेका क्वारेन्टिनलाई १०० श्ययाको बनाउने तयारीसमेत भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म भारतबाट आएका करिब ३०० काभ्रेली स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । 

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहलगायत सङ्घसंस्थामा हालसम्म ६४३ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् । “अन्य देशबाट समेत काभ्रेली आउने भएपछि स्थानीय तहका क्वारेन्टिनको क्षमता विस्तार गर्दै सातदेखि १०० श्ययाको बनाउन लागेका छौँ”, कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेकालाई हालसम्म कोरोना भाइरस सङ्क्रमण देखिएको छैन । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क छ ।
 
अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई काठमाडौँस्थित वाग्मती प्रदेशको होल्डिङ सेन्टरमा राखिनेछ । जिल्ला प्रशासन कर्यालयको समन्वयमा सम्बन्धित स्थानीय तहमा जानकारी गराइ होटल बस्ने वा स्थानीय क्वारेन्टिन बस्नेबारे निर्णयपछि सोहीअनुसार गरिने झाले बताए । उनका अनुसार विदेशबाट आउने पिसीआर परीक्षण गरेर आएका हुन्छन् । “होटल वा अन्य क्वारेन्टिनमा बसाइका बेला तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइनेछ”, झाले भने ।