नेपालमा बनेको कोरोनाविरुद्धको खोपमा डब्ल्युएचको चासो

नेपालमा बनेको कोरोनाविरुद्धको खोपमा डब्ल्युएचको चासो

काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । 

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा डा दासले जानकारी दिए । यसअघि उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाइएको थियो । 

अध्ययन संस्थानका प्रा दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला  छनोट भएपछि  भिडियो कन्फरेन्समा डा दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ  ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा  प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा  समेत छलफल भएको प्रा गैरेले जानकारी दिए ।  “सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिनेबारे कुराकानी भयो”, प्रा गैरेले भने । 

उक्त खोपको  परियोजना स्वीकृत भएमा  पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको  छ । प्रा डा दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गरेको जिकिर गरे  ।