डडेल्धुराको क्वारेन्टिनमा ३० वर्षीया महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुराको क्वारेन्टिनमा ३० वर्षीया महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुरा । डडेल्धुरामा क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी महिलाको हिजो राती १० बजे मृत्यु भएको हो। ती महिला जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन्।

बेलुकाको खाना खाइसकेपछि सामान्य अवस्थामा रहेकी महिला राती श्रीमानसँग शौचालय गएकी थिइन्। त्यसपछि उनी शौचालयमै एक्कासी बेहोस भएको र  मुखबाट रगत आएको बताइएको छ । हिजो  दिउँसो १२ बजे क्वारेन्टिनको अनुगमन गर्दा उनलाई कुनै स्वास्थ्य समस्या थिएन।

क्वारेन्टिनमा उनी आफ्ना श्रीमान्, साढे दुई वर्ष छोरा र ५ महिनाकी छोरीसहित बस्दै आएकी थिइन्। उनीहरू सबैको आज आरडिटी परिक्षण हुनेछ। तर पीसीआर परीक्षण सेवा भने  धनगढीमा मात्र हुने भएकाले केही दिन लाग्ने बताइएको छ । 

हाल मृतकको शव गाड्ने तयारी भइरहेको छ। उक्त क्वारेन्टिनमा ४० जना बस्दै आएका थिए । महिलाको मृत्यु भएपछि क्वारेन्टिन बसेकाहरूले सबैले कोरोना परीक्षणको माग गरेका छन्।