ग्यास चुहिएर भएको आगलागीमा परेका दुई जनाको मृत्यु

ग्यास चुहिएर भएको आगलागीमा परेका दुई जनाको मृत्यु

काठमाडाैं । आगलागीमा परेर घाइते भएका काभ्रेपलाञ्चोककाे बनेपा नगरपालिका–७, तरकारी बजारका पाँचमध्ये दुई जनाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोठामा खाना पकाउने ग्यास चुहिएर घाइते भएका उनीहरूकाे उपचारको क्रममा मृत्यु भएकाे हाे ।

गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७, तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएका थिए ।

घाइते सबै जनाको कीर्तिपुरस्थित वर्न सेन्टरमा उपचार भइरहेकाेमा मंगलबार वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ का आयुष ठकुरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

घाइतेमध्ये साेफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। आगलागीबाट कोठाको ढोका र झ्यालहरुमा क्षति पुगेको थियो ।