असारकाे अन्तिम साता मौद्रिक नीति ल्याउने तयारी गर्दै राष्ट्र बैंक

असारकाे अन्तिम साता मौद्रिक नीति ल्याउने तयारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि असारकाे अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टका अनुसार सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य सुरु गरिएको छ ।

डा. भट्टले कोरोना महामारीका बीच आउन लागेको मौद्रिक नीतिमा सबै क्षेत्रका सुझावहरु समेट्ने कोसिस गरिने बताए । उनले सुझाव संकलनको काम यही जेठ महिनादेखि नै सुरु हुने जानकारी समेत दिए ।

अर्थतन्त्रलाई चलायमान बनाउन तथा सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकले बनाउने मौद्रिक नीतिमा सर्वसाधारणको सुझाव समेटिन्छ । राष्ट्र बैंकले वेबसाइटबाट सुझाव दिन आह्वान गर्नुका साथै निजीक्षेत्र, बैंकिङ, बीमा, सहकारीलगायतका सबै सरोकारवालाहरूसँग राष्ट्र बैंकले सुझाव लिने गरेको छ ।

११ महिनाको तथ्यांक समावेश गर्नुपर्ने भएका कारण असार १५ गतेभन्दा पछाडि मौद्रिक नीति आउने प्रवक्ता भट्टले बताए । बैंकिङ क्षेत्रमा निकै हलचल ल्याएको बिग मर्जरको विषय भने आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा नपर्ने बताइएको छ ।

निजीक्षेत्रले भने मौद्रिक नीतिबाट केही सहुलियतको अपेक्षा राखेको छ । बजेटले उद्योगी/व्यवसायीका मागहरु सम्बाेधन गर्न नसकेको भन्दै निजीक्षेत्र मौद्रिक नीतिले सम्बाेधन गर्ने आसमा बसेको छ ।