लकडाउनको मोडल फेर्ने तयारी, उच्चस्तरीय समन्वय समितिले तयार पार्यो यस्तो प्रस्ताव

लकडाउनको मोडल फेर्ने तयारी, उच्चस्तरीय समन्वय समितिले तयार पार्यो यस्तो प्रस्ताव

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार उच्चस्तरीय समन्वय समितिले विज्ञको समेत राय लिएर कम जोखिम भएको क्षेत्रमा जनजीवन सामान्य बनाउने प्रस्ताव तयार गरेको छ । मन्त्रिपरिषदको शनिबारको बैठकले जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने तर यसबीचमा सरोकारवाला र विज्ञहरुको राय सुझाव र अरु देशका अनुभव समेत हेरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने निर्णय गरेको थियो ।

कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ ।यसअघिका कतिपय एलो र ग्रीन जोन भनिएका क्षेत्र अहिले संक्रमण बढेर रेड जोनमा पुगेकाले सीसीएमसीले पछिल्लो अवस्था अनुसार कहाँ कहाँ लकडाउन खुकुल्याउने भन्ने प्रस्ताव तयार पार्दैछ । काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि छलफल भइरहेको छ । रेष्टुरेन्टहरुमा पनि शुरुमा मान्छेहरु बसेर खानपिन गर्ने भन्दा पनि ‘टेक वे’ होम डेलिभरीका रुपमा खुलाउने र पछि विस्तारै मापदण्ड बनाएर एउटा टेबुलमा बढीमा २ जनासम्म बस्ने गरि खुलाउँदै जान सकिनेबारे छलफल भइरहेको छ ।

पछिल्ला दिनमा कोरोना सांक्रमण तीब्र रुपमा बढिरहेको छ । तर संक्रमितहरु प्रायः सबै भारतीय नाकाबाट भित्रिएकाहरु रहेकाले ती क्षेत्रमा लकडाउन कडाइ गर्दै कम जोखिमका क्षेत्रको जनजीवन खुकुलो बनाउने सम्भावना रहेको छ । विस्तारै कोरोनासँग जुधेर जनजीवन अघि बढाउनुको विकल्प नरहेको सरकारका मन्त्रीहरुको पनि बुझाइ छ ।

मन्त्रिपरिषदको पछिल्लो बैठकमा कोरोनासँग संघर्ष गर्दै अघि बढ्नुको विकल्प नरहेको बारे चर्चा समेत भएको थियो । संक्रमणको खतरा लामो समयसम्म कायमै रहने भएकाले सधैं लकडाउनमा बसेर सम्भव नहुने कोणबाट सो विषय उठेको मन्त्रीहरुले बताएका छन् ।

जेठ ३२ अघिनै काठमाडौं लगायत पहाडी र हिमाली जिल्लाहरुमा लकडाउन खुकुलो बनाएर सावधानीपूर्वक जनतालाई नियमित गतिविधिमा फर्काउनेबारे छलफल भइरहेको छ । उच्चस्तरीय समन्वय समितिले सबै परिस्थितिको आँकलन गरेर विज्ञहरुको सुझाव सहित मन्त्रिपरिषदमा लकडाउनको मोडालिटी फेर्न प्रस्ताव लैजाने बताइएको छ ।