नेपालबाट भारत प्रवेशमा रोक

नेपालबाट भारत प्रवेशमा रोक

काँकडभिट्टा । भारतले मेचीपारि अलपत्र नेपालीलाई ‘चोर बाटो’ बाट पठाइरहेको छ । तर, नेपालबाट जाने भारतीय नागरिकलाई भने प्रवेशमा रोक लगाएको छ । दुई दिनअघि प्रहरीको सहयोगमा १७ भारतीयलाई मेचीपारि पठाउन लागिएको थियो । तर, पानीट्यांकीमा रहेका प्रहरीले प्रवेश नदिएपछि ती पुनः नेपाल फर्किए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले तीन दिनअघि १७ जना भारतीयलाई प्रवेश गराउन पानीट्यांकीको स्थानीय प्रशासनँग आग्रह गरेको थियो ।

भारतले आफ्नै नागरिकलाई प्रवेशमा रोक लगाएपछि पूर्वी नाका काँकडभिट्टामा भीड जम्मा भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले भारतीय नागरिकको भीड बढ्न थाल्दा नाकामा समस्या पैदा भएको बताए । ‘भारतीयहरुको भीड बढ्याबढ्यै छ’, उनले भने, ‘भारतीय सुरक्षा संयन्त्रले तत्काल प्रवेश दिन नसकिने भनेको छ ।’