आज पुष्टि भएका १८९ संक्रमितमध्ये कुन जिल्लाका कति ?

आज पुष्टि भएका १८९ संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडाैं । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । 

प्रवक्ता डा. देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना रहेका छन् । यस्तै धनुषका ७, झापा १, ललितपुर १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् ।

विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ । विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ ।

यसैगरी प्रदेश नम्बर १ मा १ सय ३०, प्रदेश नम्बर २ मा ४ सय ४२, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा १७ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ९६, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी १ हजार १ सय ७६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्त डा. देवकोटाले बताए ।