'भारतीय मिडियाले नेपाली सेनालाई अनावश्यक विवादमा तान्न खाेज्यो'

'भारतीय मिडियाले नेपाली सेनालाई अनावश्यक विवादमा तान्न खाेज्यो'

काठमाडौं । पछिल्लो समय केही भारतीय सञ्चारमाध्यमले नेपाली सेना र नेपालको विषयलाई लिएर गरेकाे टिप्पणीप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । 

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र रहेको भन्दै भ्रममा नपर्न भनेको छ  ।

केही समय अघि टीएफआई पोष्ट डटकम र हिन्दुस्तान टाइम्सले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले चीनको इसारामा नेपालले लिपुलेकको विषय उठाएको भनि गरेको टिप्पणीमाथि खण्डन गर्न प्रधान सेनापति पूर्णचन्द्र थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भने पनि अस्वीकार गरेको दाबी गरेको थियो ।

 तर, सेनाले भने राष्ट्रिय स्वाधिनतको कुरा उठिरहेका बेला सेनालाई अनावश्यक विवादमा तान्ने मनसायले उक्त अफवाह फैलाइएको दाबी गरेको छ ।

साथै, भारतीय सेनाध्यक्ष नरभानेको टिप्पणीबारे रक्षामन्त्री ईश्वर पोखरेलले पनि धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै सेनाले भनेको छ, ‘नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहोको पनि जानकारी गराउन चाहन्छौं ।’