कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गयो, २५ सय नेपालीमा सङ्क्रमण

कतारमा कोरोना सङ्क्रमित एक नेपालीको ज्यान गएको छ । धनुषाका एक युवकको कोरोनाको कारण ज्यान गएको र अरु सङ्क्रमितको कतार सरकारले नै उपचार गरिरहेको कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले बताए । कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको छ । सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक भन्ने कुरा आए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ भनेर दूतावासलाई जानकारी छैन।

सङ्क्रमित भएका झण्डै ६० जनाले दूतावासमा सम्पर्क गरेर आफ्नो बारेमा जानकारी गराएको र उनीहरुको स्वास्थ्य अवस्था लागायत अस्पतालले दिएका सेवा सुविधाबारे दिनहुँ फोनमार्फत जानकारी लिने काम भैरहेको राजदूत भारद्वाजले बताए ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले भने कतारमा २५ सय नेपालीमा कोरोना सङ्क्रमण भएको जनाएको छ । सङ्क्रमितमध्ये निको भएर काममा फर्कने धेरैले दूतावासमा सम्पर्क गर्ने गरेका छन् ।उनीहरुसँग दूतावासले कतार सरकारले दिएको स्वास्थ्य उपचार लगायतबारे सोधपुछ गर्दा उपचारमा भेदभाव नगरेको पाइएको राजदूत भारद्वाजले बताए ।