गुल्मीका मृतक परिवारको दाबी– 'उहाँको मृत्यु कोरोनाले भएको होइन'

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मीका ४१ वर्षीया शिक्षकका आफन्तले उनको मृत्यु कोरोना भइरसका कारण भएकामा आशंका गरेका छन् ।

ती शिक्षकको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । गुल्मी मदाने गाउँपालिका–६ का कुँवर थरका उनी जण्डिस र निमोनियाबाट ग्रस्त थिए । उनलाई गाउँबाट १ जेठमा अर्घाखाँचीसम्म मोटरसाइकल र त्यहाँबाट मणिग्रामसम्म एम्बुलेन्समा ल्याइएको थियो । अस्पतालमा भर्ना हुँदा उनलाई ज्वरो आउने र टाउको दुख्ने समस्या थियो । गाउँमै बसेका र बाहिरबाट आएका मानिसको सम्पर्कमा नगएका उनको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि परिवार आश्चर्यचकित भयो ।

परिवार र आफन्तले मृतकमा कोरोना संक्रमण नै हो भन्ने पत्याउन सकिरहेका छैनन् । ‘घरमा बस्नुभएको थियो । बाहिरबाट आएका मानिससँगको सम्पर्कमा गएको पनि थाहा छैन’, बुटवलमा रहेका उनका आफन्तले टेलिफोनमा भने, ‘कोरोना नै हो भन्नेमा शंका छ ।’

अस्पतालले भने उनमा कोरोना संक्रमण भएको जनाएको छ । मृतकका एक आफन्तले बताएअनुसार उनलाई अर्घाखाँचीबाट अस्पतालसम्म ल्याउने एम्बुलेन्स भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु ओसार्न प्रयोग भएको थियो । एम्बुलेन्सबाट संक्रमण भएको हो कि भन्ने एकथरिको आशंका छ ।

तर, अर्काथरि भने अस्पतालको लापरबाहीले त्यस्तो भएको दाबी गर्छन् । भारतबाट आएर क्वारेन्टाइनबाट भागेका रुपन्देही मर्चवारका एक युवक र मृतकको थ्रोट स्वाब एकैपटक संकलन गरिएको थियो ।

मर्चवारका युवकसँग मृतकको स्वाबको नमुना साटिएको आशंका पनि आफन्तलाई छ । ‘यस्तो कुरा बाहिर भन्दा कसैले पत्याउँछन् कि पत्याउँनन् थाहा छैन, तर नमुना अर्कैको हुन सक्ने शंका छ’, एक आफन्तले भने ।

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख एवं कोरोना फोकल पर्सन डा। उमासंकर चौधरीले आरोप स्वीकार गर्न तयार छैनन् । ‘नमुना साटिएको भन्ने आरोप गलत हो’, उनले भने, ‘त्यस्तो हुनै सक्दैन ।’

यसअघि मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको मृत्यु पनि कोरोनाबाट भएको हो भन्नेमा आशंका गरिएको छ । बाँकेमा कोरोनाबाट मृत्यु भएका युवक र उनको लक्षण नमिल्नुले पनि महिलाको मृत्यु कोरोनाबाट नभएको आशंकालाई बल पुर्याएको छ ।