नेपालले भोलि नयाँ नक्सा सार्वजनिक गर्ने, भारतमा खैलाबैला

नेपालले भोलि नयाँ नक्सा सार्वजनिक गर्ने, भारतमा खैलाबैला

प्रधानमन्त्री केपी ओलीले भोलि नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा पारित गरेको थियो । अब लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका भूभाग नक्सामा समेट्दा नेपालको भूमि तीन सय १० वर्गकिलोमिटर बढ्नेछ । नेपालले नयाँ नक्सा पारित गरेपछि सिंगो देशले स्वागत गरिरहेको छ ।

भारतले लिपुलेकमा सडक बनाएपछि दुई देश बीच तनाव भएको थियो । तर अब भने नेपालले नयाँ नक्सा पारित गरेपछि नेपाल-भारत सीमा विवादले नयाँ मोड लिएको छ । भारतले नेपालको उक्त भूमि आफ्नो भन्दै २०१९ नोभेम्बर ३ मा नयाँ नक्सा जारी गरेको थियो । भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले वार्ताका लागि आग्रह गरेको थियो । तर भारतले यस बिषयमा कुनै चासो दिएको थिएन । तर सोमबार भने नेपालले नयाँ नक्सा जारी गरेको छ । नेपालले नयाँ नक्सा जारी गर्ने भने लगत्तै भारतिय मिडियाहरुमा विभिन्न समाचारहरु आएका छन् ।

भारतीय मिडिया हिन्दुस्तान टाइम्सले यस बिषयमा समाचार लेख्दै 'नेपालले भारतीय भूभाग कालापानी र लिपुलेक समेट्दै नक्सा सार्वजनिक गर्ने शीर्षकमा लेखेको छ । यस मिडियाले समाचारमा नेपाल सरकारले लिपुलेक र कालापानी भारतसँगका विवादित भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने भएको छ', भनि लेखेको छ ।

त्यस्तै द हिन्दुले 'नेपालले नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दैु शीर्षकमा नेपालले कालापानी क्षेत्रलाई आफ्नो दाबी गर्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्ने भएको छ । कालापानी क्षेत्रमा लामो समयदेखि नेपालको भारतसँग विवाद चल्दै आएको छ ।' लेखेको छ ।

त्यस्तै अर्को मिडिया जीन्युजले 'नेपालको क्याबिनेटद्वारा विवादित नक्सा स्वीकृत, भारतीय भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भएको दाबी' शीर्षक समाचार लेखेको छ । यस्तै शीर्षकमा भारतका अन्य मिडियामा पनि नेपालको नयाँ नक्साबारे समाचारहरु आएका छन् । नयाँ नक्सा सार्वजनिक भएसँगै नेपाल-भारत सम्बन्धमा थप दरार आउने देखिएको छ ।