कालीमाटीका व्यवसायीमा कोरोना संक्रमण भएको पुष्टि

कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौं, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा उनी बन्दाबन्दीमा घर आएका र पाँच दिनअघि काठमाडौं फर्किएको स्थानीय प्रशासनले जनाएको छ ।

काठमाडौंंमा स्वाब परीक्षणपछि मात्र उनमा कोरोनाको संक्रमण भएको पुष्टि हो । उनलाई कोरोना पुष्टि भएपछि लालपुर शनिबार दिउँसोदेखि बन्द गरिएको छ । कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका संक्रमित पुरुष गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौंं आएका थिए ।

उनी चढेको ट्रक धनगढीको रहेको र सोही ट्रकमा उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ । संक्रमितका परिवारमा २२ जना छन् । सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य प्रमुख गिरीले जानकारी दिए ।

शनिबार दिउँसोदेखि लालपुरका कसैलाई पनि घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । बर्दियामा हालसम्म दुई जनामा कोरोना पुष्टि भइसकेको छ ।