भारतबाट ३० हजार थान पिसिआर किट सहयोग प्राप्त

भारतबाट ३० हजार थान पिसिआर किट सहयोग प्राप्त

भारतले कोरोना परीक्षणका लागि नेपाललाई उपहारस्वरूप ३० हजार व्यक्तिको जाँच क्षमताको पिसिआर टेस्ट किट सहयोग गरेको छ । आइतबार भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई किट हस्तान्तरण गरेका हुन् ।

यसअघि १० वैशाखमा पनि भारतले २३ टन औषधि नेपाललाई हस्तान्तरण गरेको थियो । माइल्याबले उत्पादन गरेको सो किट नेपाली जनताका लागि उपहारस्वरूप प्रदान गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

औषधि र परीक्षण किटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरूद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको जारी सहकार्यलार्ई दर्शाएको दूतावासले जनाएको छ ।

नेपालमा अहिलेसम्म झन्डै दुई लाख पिसिआर किट्स मौज्दात भइसकेको छ । केही दिनअघि मात्र स्विस राजदूतले नेपाललाई ३० हजार थान किट्स सहयोग गरेको थियो । त्यसअघि चीनबाट पनि पिसिआर किट्स आइसकेको छ ।