खतराको केन्द्रमा सिन्धुपाल्चोक, कोरोना संक्रमितको मृत्यु भएपछि चालिसेगाउँ सिल गर्ने तयारी

खतराको केन्द्रमा सिन्धुपाल्चोक, कोरोना संक्रमितको मृत्यु भएपछि  चालिसेगाउँ सिल गर्ने तयारी

सिन्धुपाल्चोक बाह्रिविसेको चालिसेगाउँकी एक महिलाको कोरोना भाइरसका कारण काभ्रेको धुलिखेल अस्पताल मृत्यु भएपछि चालिसेगाउँ सिल गर्ने तयारी गरिएको छ । सिन्धुपाल्चोक खतराको केन्द्र बन्ने संकेत देखिएसँगै चालिसेगाउँ शिल गर्ने तयारीस्वरुप जिल्ला प्रशासन कार्यालय चौतारामा बैठक जारी रहेको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहिबार निधन भएको थियो । उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो ।

ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि उनलाई सिन्धुपाल्चोक बाह्रबिसेस्थित घर लगिएको थियो । बिहिबार अचानाक स्वासप्रश्वासमा समस्या भएपछि उनलाई काभ्रेको धुलिखेल अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइएको १ घण्टा नबित्दै उनको निधन भएको थियो ।

उनको मृत्युपछि धुलिखेल अस्पताल पनि सिल गरिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् ।