रातारात यसरी भित्रिए सुनौली नाकाबाट भारतमा रहेका नेपाली (भिडियोसहित)

रातारात यसरी भित्रिए सुनौली नाकाबाट भारतमा रहेका नेपाली (भिडियोसहित)

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अवैध नेपाल प्रवेशमा कमी आएको दाबी सशस्त्र प्रहरीको भए पनि उनीहरुको आँखा छलेर नेपाल प्रवेश गर्ने क्रम भने अझै रोकिएको छैन । अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ ।

सुनौली नाकाबाट रातको समयमा ट्रक र गाडिमा खचाखच नेपाली भित्रिने गरेको स्थानिय बताउछन् । बिहिबार राती सो नाकाबाट विना सतर्कता ट्रक र गाडिमा खचाखच नेपालीहरु भित्रिएको भिडियो नेपाल डेलीलाई प्राप्त भएको छ ।

यता लकडाउनको समयमा हालसम्म १०० भन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । बैतडी र दार्चुलामा गरी उक्त सङ्ख्यामा स्वदेश भित्रिएका हुन् । महाकाली नदीमा ट्युबमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । सीमा सिल रहेका बेला सुरक्षाकर्मीको आँखा छलेर उनीहरु नेपाल आएका हुन् । उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको उहाँले बताउनुभयो । भारतमा लकडाउन खुकुलो भएपछि अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएको हो ।

दार्चुलामा पनि लकडाउनका समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्याङ्क रहेको छ । उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन् । स्वेश फर्कने सबै नेपाली मजदुर रहेको र उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षणपश्चात मात्रै घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

बैतडी र दार्चुलासँग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लालाई भारत सरकारले ग्रिनजोनमा राखेकाले त्यहाँ मजदुरी गर्दै आएका नेपाली स्वदेश भित्रिने क्रम बढेको हो । सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिने क्रम नरोकिँदा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीको भनाइ छ ।

लकडाउन रहेको समयमा सीमा क्षेत्रबाट हुने वारपार रोक्न बैतडीमा निगरानी समूह गठन गर्न थालिएको छ । कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । भारतसँग सीमा जोडिएका जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा निगरानी समूह गठन गरिँदैछन् ।

निगरानी समूहले अवैधरूपमा महाकालीबाट स्वदेश नफर्कनका लागि माइकिङ गर्ने, सीमामा खटिएका प्रहरीलाई सहयोग गर्ने, कोही सीमाबाट तरिहालेमा उनीहरुलाई क्वारेन्टाइनमा पुर्याउने काममा सहयोग गर्ने जनाएको छ । दशरथचन्द नगरपालिकाले सीमा क्षेत्रका वडामा निगरानी समूह गठनको काम भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । वडाध्यक्षको अगुवाइ निगरानी समूह गठन गर्ने काम भइरहेको थापाको भनाइ छ ।