युकेमा कोरोनाबाट ६३ नेपालीले ज्यान गुमाए

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिए । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

नेपालमा शनिबार बिहानसम्म सङ्क्रमितको सङख्या २७३ पुगेको छ । हिजो शुक्रबार १८ जना सङ्क्रमित देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीका निगरानीमा छन् ।