टिचिङ अस्पतालका एक स्वास्थ्यकर्मीमा पनि कोरोना

दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)का स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका-७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

ति स्वास्थ्यकर्मीलाई बिरामीको उपचारका क्रममा संक्रमण भएको आशंका गरिएको छ । केही दिनअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ सार्वजनिक सूचना जारी गर्दै दाङको तुलसीपुर उपमहानगरपालिका-७ मा १ र गढवा गाउँपालिका(४ र ५ मा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

यसअघि रुपन्देही र पर्साका स्वास्थ्यकर्मीहरूमा पनि कोरोना देखिएको थियो । शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमित थपिएका थिए । शुक्रबार बिहान मकवानपुर १ जना पुरुष र बाँकेको नैनापुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो ।