भक्तपुरका सशस्त्र प्रहरी जवानको संक्रमणको स्रोत पत्ता लागेन

भक्तपुरका सशस्त्र प्रहरी जवानको संक्रमणको स्रोत पत्ता लागेन

भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका दुईमध्ये सशस्त्र प्रहरीका जवानको संक्रमणको स्रोत अहिलेसम्म पत्ता लाग्न सकेको छैन । उनी सरकारले लकडाउन घोषणा गरेदेखि चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित सरस्वतीखेलमा रहेका आफ्नै घरमा बसिरहेका थिए । घरनजिकै रहेको सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत उनी यस अवधिमा गणमा समेत नगएको देखिन आएको छ ।

सरस्वती खेल वरपर, पसलमा किनमेल गर्न भने जाने गरेका थिए तर उपत्यका बाहिर कहीँकतै गएको उनको यात्रा विवरण (ट्राभल हिस्ट्री) नरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

पुरानो यात्रा विवरण नभएकै अवस्थामा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले संक्रमणको स्रोतबारे अन्योल देखिएको उनको भनाइ छ। त्यसैले उनीसँग सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुको पनि यात्रा विवरण हेर्ने काम भइरहेको प्रहरी उपरीक्षक प्रधानले बताए ।

बैशाख ३० गते परीक्षण गर्दा ती सशस्त्र प्रहरी जवानको रिपोर्ट पोजिटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आएपछि वैशाख ३१ गते जवानको घर क्षेत्र सिल गरिएको छ। उनका घरपरिवार र उनको सम्पर्कमा आएका नौजनाको पनि कोरोना भाइरस परीक्षण गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

प्रहरी जवानको सम्पर्कमा आएका नौ जनाको कोरोना परीक्षण सशस्त्र प्रहरी बलले गरेको छ। शुक्रबार बिहानसम्म रिपोर्ट नआएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।