कालीमाटी तरकारी बजारका ४ जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ

कालीमाटी तरकारी बजारका ४ जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनाको एन्टिबडी पोजेटिभ देखिएको छ । बिहीवार कालिमाटी बजारका ७ सय जनाको र्‍यापिड डाइग्नोष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो ।

विहीबार ७०० जनाको आरडीटी र ३३४ जनाको पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको जनाएको छ । ७ सय जनाको आरडीटीबाट गरिएको परिक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका जन स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए ।

‘र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) विधिबाट गरिएको परिक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ देखियो’ उनले भने । काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको थियो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड — १९) भए-नभएको पत्ता लगाउन विहीबारबाट स्वास्थ्य परीक्षण थालिएको हो ।