उपत्यकाको लकडाउनमा कडाइ, पैदल यात्रुलाई पनि नियन्त्रण लिने

सरकारले उपत्यकामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ । राजधानीसँगै देशभर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने रणनीति तयार गरेको हो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, डीआईजी विश्वराज पोखरेलका अनुसार उपत्यका भित्रिने नागढु्ङ्गा नाकामा चेकजाँचलाई थप कडाइ गरिएको छ । दैनिकजसो बाहिरी जिल्लाबाट मानिसहरू उपत्यका भित्रिन थालेपछि संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नाकामा चेकजाँचलाई थप कडाइ गरिएको उनको भनाइ छ ।

त्यस्तै, उपत्यकामा सडकमा हिँड्ने पैदल यात्रुलाई पनि प्रहरीले नियन्त्रणमा लिने भएको छ । पत्रकारलाई पनि अनिवार्य सूचना विभागको परिचयपत्र बोक्न निर्देशन दिएको उनले बताए ।

यता, गृह मन्त्रालयले पनि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि रोक लगाएको छ । साथै, अति आवश्यक कामका लागि हिँड्डुल गर्नुपरे उपयुक्त कारण देखाउनुपर्ने गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको थियो ।

हाल उपत्यकासहित नेपालमा कुल २४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बिहीबार मात्रै ३ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको थियो । हालसम्म २१ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ३५ जना उपचारपछि घर फर्किएका छन् ।