कालापानीमा सशस्त्रको फौज राख्न काठमाडौै‌ंबाट उड्यो सेनाको हेलिकोप्टर

कालापानीमा सशस्त्रको फौज राख्न काठमाडौै‌ंबाट उड्यो सेनाको हेलिकोप्टर

लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौंबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी ९बिओपी० स्थापनाका लागि काठमाडौंबाट टोली त्यसतर्फ गएको हो ।

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइँदै छ । आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर त्यहाँ टोली पुर्याउने छ । केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाउन लागेको हो ।

सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी खटाइने जनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज त्यसतर्फ गएको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।