भीम रावलको सुरक्षामा खटिएका प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्व गृहमन्त्री समेत रहेका रावलको सुरक्षामा खटिएका ती जवान भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।

उनी टेकु अस्पतालमा अहिले उपचाररत छन् । ती जवान वैशाख २ गते बिदा लिएर गएको र फर्किएर आउँदा कोरोना परीक्षण गरेर आउन भनिएको थियो । तर परीक्षणमा उनमा कोरोना पोटेभिट देखिएको हो ।

त्यस्तै २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ। हाल मध्यपुर थिमि नगरपालिका -९ स्थित साथीको कोठामा बस्ने उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा हुन्। उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

प्रजिअ पाण्डेका अनुसार महिला आफैँ टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। त्यस्तै पुरुषको स्वाब भने सशस्त्र प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। जसको रिपोर्ट पनि पोजिटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो।

अहिले संक्रमित देखिएको दुइटै ठाउँ सिल गरिएको प्रजिअ पाण्डेले बताइन्। उनका अनुसार संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यसमेत द्रूत गतिमा भइरहेको छ। दुवै संक्रमितहरु टेकु अस्पतालमा रहेकाले उनीहरुको डिटेल ट्राभल हिस्ट्री प्राप्त भइ नसकेको बताइएको छ।