सेनाको हेलिकोप्टरबाट सशस्त्रको टोली आज कालापानी जाने, गृहमन्त्रीको कालापानी भ्रमण स्थगित

सशस्त्र प्रहरीको टोली आज दार्चुलाको कालापानी सीमा क्षेत्रमा जाने भएको छ । ५० गुल्म दार्चुलाबाट २५ जना सशस्त्र प्रहरीको टोली नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट सदरमुकाम खलंगाबाट ब्यास गाउपालिका–१, छाङरू हुँदै त्यसतर्फ जान लागेको हो ।

नेपाली भूमि हुँदै भारतले मानसरोवर जाने सडकको उद्घाटन गरेपछि सशस्त्रको टोली आज आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर टोली जान लागेको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । सशस्त्र प्रहरी पठाउनेबारे सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापाबीच पनि मंगलबार छलफल भएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले दार्चुलामा पर्ने कालापानीको भ्रमण गर्ने योजना बनाएको भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकका कारण अन्तिम समयमा स्थगित गरेका छन् । आज बिहान ११ बजे बस्ने स्थायी कमिटिका कारण अन्तिम समयमा मन्त्री थापाले कालापानी भ्रमण स्थगित गरेका गृहमन्त्रालय स्रोतले जनाएको छ ।