को हो गगन थापा? म त चिन्दा पनि चिन्दिनँ- शशांक कोइराला

को हो गगन थापा? म त चिन्दा पनि चिन्दिनँ- शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बनाएको १५ औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले गगन थापाको नाम नलिन आग्रह गरेका छन्।

उनले नेपाली कांग्रेसका सभापति गगन थापाप्रति लक्ष्य गर्दै आफूले चिन्दा पनि नचिन्ने बताए। गगनको नाम लिएर चर्चा गर्दा उनैलाई फाइदा पुग्ने भएकोले त्यसो नगर्न कोइरालाको आग्रह थियो। कांग्रेस पूर्वमहामन्त्री कोइरालाले यो कुरा देउवा पक्षको रूपन्देही जिल्ला अधिवेशन उद्घाटनका क्रममा आइतबार भनेका हुन्।

‘नाम नै नलिनुस्, को हो गगन थापा, म त चिन्दा पनि चिन्दिनँ,’ शशांकले यसो भन्दा मञ्चमा रहेका नेताहरू विमलेन्द्र निधि, उमाकान्त चौधरी, एनपी साउद मुसुमुसु हाँसिरहेका थिए। त्यसपछि भाषण गरिरहेका शशांक पनि हाँसे। 

यसपछि शशांकले विषय परिवर्तन गरे। हिन्दु राष्ट्रका विषयमा बोल्न कार्यकर्ताहरूले आग्रह गरेको उल्लेख गर्दै भने, ‘धर्म न निरपेक्ष हुन्छ न सापेक्ष हुन्छ, धर्म स्वतन्त्र हुन्छ। यो मेरो बटमलाइन हो।’ गत वर्ष पुसमा विशेष महाधिवेशन भएदेखि कांग्रेसभित्र विवाद छ। शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्।

गगन थापा पक्षले असोज १८ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गरिसकेका छन् भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्न अहिले जिल्ला र प्रदेश लगायत अधिवेशन गरिरहेका छन्।