प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज हैदराबाद हाउसमा भेटवार्ता हुँदै

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज हैदराबाद हाउसमा भेटवार्ता हुँदै

काठमाडाैं।भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भ्रमणको दोस्रो तथा अन्तिम दिन आज (सोमबार) भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्दैछन्। भारतीय समयअनुसार बिहान ११ बजे नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यतालिका तय भएको छ।

यस उच्चस्तरीय भेटवार्तामा द्विपक्षीय आर्थिक सहकार्य, ऊर्जा व्यापार र सम्पर्क सञ्जाल विस्तारका विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाह र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट संयुक्त शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

यसका साथै, अन्तर्राष्ट्रिय उडानहरूको सहज सञ्चालनका लागि नेपालले लामो समयदेखि माग गर्दै आएको नयाँ हवाई मार्ग (एयर रुट) को विषयमा समेत आजको बैठकमा महत्त्वपूर्ण 'ब्रेक थ्रु' हुने अपेक्षा प्रधानमन्त्री शाहले राखेका छन्। द्विपक्षीय वार्तापछि दिउँसो १२ः२५ बजे विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने तालिका छ।

यसअघिका औपचारिक कार्यक्रमअन्तर्गत आज बिहान १० बजे भारतको राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको सम्मानमा 'गार्ड अफ अनर' सहित औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नेछन्। हैदराबाद हाउसको वार्ता र दिवाभोजपश्चात् प्रधानमन्त्री शाहले आज दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

भ्रमणको पहिलो दिन आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताजमहलमा भारतका विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका थिए। करिब २५ मिनेट चलेको उक्त भेटमा नेपाल र भारतबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राजकीय भ्रमणका सम्पूर्ण औपचारिक कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित आज अपराह्न ४ः५० बजे स्वदेश फर्किने कार्यतालिका छ।