काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) को विषयमा महत्वपूर्ण सहमति जुट्ने सम्भावना प्रवल बनेको छ। डेढ दशकभन्दा लामो समयदेखि कूटनीतिक तथा प्राविधिक तहमा बन्दै आएको जटिलता चिर्दै यस पटकको उच्चस्तरीय भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ।
नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट थप हवाई मार्ग उपलब्ध गराउन भारतसँग लामो समयदेखि आग्रह गर्दै आएको छ। पछिल्लो द्विपक्षीय छलफलमा महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाज नेपाल प्रवेश गर्न दिन तथा भैरहवा र जनकपुरबाट कम उचाइमा हवाईमार्ग उपलब्ध गराउन भारतीय पक्ष सकारात्मक देखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। नेपालले तत्काल सम्भव हुने हवाई प्रवेश मार्गहरू सञ्चालनमा ल्याएर बाँकी विषय क्रमशः संवादबाट टुङ्ग्याउन प्रस्ताव गरेको छ भने भारतीय पक्षले समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ।
नयाँ हवाई रुट सञ्चालनमा आएमा हाल सिमरा प्रवेश बिन्दुमा मात्र निर्भर रहनुपर्ने बाध्यता हट्नेछ र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललगायत पश्चिमी क्षेत्रका विमानस्थलहरूबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न सहज हुनेछ।
यसअघि विसं २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र विसं २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पनि यो विषय उठाइए पनि ठोस सहमति बन्न सकेको थिएन। हालै मन्त्रीस्तरीय तथा कूटनीतिक तहमा भएका चरणबद्ध छलफलले सकारात्मक वातावरण सिर्जना गरेकाले यस पटकको भ्रमणबाट ठोस ‘ब्रेक थ्रु’ हुने अपेक्षा गरिएको छ।