उम्मेदवार आफैं छान्नुस्, जिताउने जिम्मा पनि लिनुस् : एमाले महासचिव पोखरेल

उम्मेदवार आफैं छान्नुस्, जिताउने जिम्मा पनि लिनुस् : एमाले महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले विभिन्न अभियान सञ्चालन गरे पनि जनतासँग प्रभावकारी सम्बन्ध स्थापित गर्न नसकेको यथार्थ स्वीकार गरेका छन्।

पार्टीको राष्ट्रिय भेलामा 'शुद्धीकरण र सुदृढीकरण' सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै महासचिव पोखरेलले वडा केन्द्रित, जरा केन्द्रित र ग्रासरुट अभियानहरू औपचारिकतामा मात्र सीमित भएको बताएका छन्।

जनतासँगको संवाद कमजोर हुँदा पार्टीले बदलिँदो जनमनोविज्ञान बुझ्न नसकेको र त्यसको असर निर्वाचन परिणाममा देखिएको उनको ठहर छ। पार्टीको गुमेको जनाधार पुनः फर्काउन अब जनताका समस्या पहिचान गरी तिनको समाधानको नेतृत्व लिनुपर्नेमा उनले जोड दिए।

उम्मेदवार छनोटमा कार्यकर्ताको भूमिकामा जोड

कार्यपत्र प्रस्तुत गर्दै महासचिव पोखरेलले उम्मेदवार छनोटमा नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्तिको समेत आलोचना गरेका छन्। अबदेखि कार्यकर्ता आफैँले उम्मेदवार छनोट गर्नुपर्ने र आफूले छानेका उम्मेदवारलाई जिताउने जिम्मेवारी पनि स्वयम् लिनुपर्ने उनको भनाइ छ।

उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुमान वा पूर्वाग्रहभन्दा पनि जनमत सर्वेक्षण र व्यापक सुझावका आधारमा वैज्ञानिक प्रणाली अपनाउनुपर्ने आवश्यकता उनले औँल्याए। कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘उम्मेदवारहरू पनि तपाईंहरू आफैँ छान्नुस् र जिताएर देखाउनुस्।’