काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया इनम सापकोटामाथिको अनुसन्धान रहस्यमयी भएको बताएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारको गतिविधि इनम सापकोटाका नाममा पटाक्षेप भएको बताए।
उनले भने, ‘त्यसका रहस्य त आउन बाँकी नै छन्। धेरैले गरेको विश्लेषण प्रधानमन्त्रीलाई झापामा उम्मेदवार बनाउन उपयुक्त हुन्छ हुँदैन भन्ने कुराको सर्वेक्षण पनि उनकै नेतृत्वमा भएको थियो भन्ने छ। चुनावको क्याम्पेनमा पनि उनै सामेल भए। प्रधानमन्त्री भइसकेपछि कसरी सरकारलाई सफल बनाउने भन्ने कोर टिमभित्र पनि उनी रहे भन्नेसम्मका कुराहरू आइसकेका छन्।’
प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा लिएको मोबाइल दुई–तीन दिनसम्म राखेको कुरा पनि बाहिर आइसकेको बताए। उनले थपे, ‘यद्यपि अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा ल्याएको छ। तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन।’
उनले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति पनि चर्को आलोचना गरे।